सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित स्कुल टोलमा १७ वर्षीया किशोरी अविना वैधको विभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३ बस्ने ४५ वर्षीय राम बालक चौधरी रहेका छन् । गएको मंसिर २२ गते दिउँसो करिब २ :४५ बजे कर्जन्हा–२ स्थित कमला सिँचाइ नहर नजिकैको झाडीमा कर्जन्हा–१ बाल्टिया बस्ने स्व. सयुजदेव वैधकी छोरी अविना वैधको शव फेला परेको थियो ।
घटनाको प्रकृति शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्त राम शर्माको नेतृत्वमा टोली खटिएको थियो । अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।
घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो प्रदेश प्रहरी र स्थानीय प्रहरीको संयुक्त टोली खटिएको थियो । कल डिटेल र प्राविधिक विश्लेषणका क्रममा मृतक अविना र अभियुक्त राम बालक चौधरीबीच बाक्लो सम्पर्क देखिएको थियो ।
प्रहरीका अनुसार, मंसिर २१ गते राति १९ :०० बजे होटलमा मादक पदार्थ सेवन गरेका चौधरीले अविनालाई पटक–पटक फोन गरी भेट्न बोलाएका थिए । राति करिब २१स्१५ बजे अविना चौधरीको डेरामा पुगेकी थिइन् । त्यहाँबाट उनीहरू कमला नदी किनार हुँदै घटनास्थल पुगेका थिए ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा अभियुक्त चौधरीले हत्या स्वीकार गरेको बुझिएको छ ।
प्रहरीले अभियुक्त चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सिरहाबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।


