वीरगंज । आन्तरिक पर्यटनको माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यका साथ पोखराका पर्यटन व्यवसायीहरू ‘जाउँ है पोखरा’ अभियान लिएर मधेश प्रदेशको आर्थिक केन्द्र वीरगंज आइपुगेका छन्।
वीरगंज, विराटनगर, इलाम र हेटौंडालाई लक्षित गरी सुरु गरिएको यो पाँच दिने प्रवर्द्धनात्मक अभियानले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः जागृत गर्ने लक्ष्य राखेको छ।
वीरगंजमा आयोजित विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले हालको न्यून पर्यटकीय उपस्थितिलाई बढाएर ४० प्रतिशत पुर्याउने संकल्प व्यक्त गरेका छन्।
वार्षिक १२ लाख पर्यटक भित्र्याउने बृहत् लक्ष्य बोकेको यो अभियानले नेपाली नयाँ वर्षको अवसरमा पोखरा आउने पाहुनाहरूलाई होटल बासमा २५ प्रतिशतसम्मको विशेष छुट प्याकेज समेत सार्वजनिक गरेको छ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ व्यवसायीहरूले आन्तरिक पर्यटकलाई पोखराको सुन्दरता र आतिथ्यको अनुभव लिन निमन्त्रणा दिएका हुन्।
पर्यटन क्षेत्रको वर्तमान अवस्थाको विश्लेषण गर्दै व्यवसायीहरूले यो क्षेत्र ठूलो संकटबाट गुज्रिरहेको प्रति चिन्ता व्यक्त गरे। विगतको सशस्त्र द्वन्द्व, विनाशकारी भूकम्प, नाकाबन्दी र राजनीतिक आन्दोलनका घाउहरू अझै निको नहुँदै पछिल्लो समय मध्यपूर्वमा देखिएको अशान्तिले बाह्य पर्यटकको आगमनमा थप अवरोध सिर्जना गरेको छ।
पोखराको पर्यटनमा करिब ८ खर्ब रुपैयाँको कुल लगानी रहेकोमा होटल क्षेत्रमा मात्रै ६ खर्ब रुपैयाँ परिचालन भएको छ। १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको यो क्षेत्रले एकै रातमा ४० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्दछ, तर क्षमता अनुसारको पर्यटक नहुँदा लगानी जोखिममा परेको व्यवसायीहरूको ठम्याइ छ।
कार्यक्रममा पोखराका १२ सय होटलमध्ये ५ सय मात्र दर्ता प्रक्रियामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै कानुनी दायरा र व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याइएको थियो।
साथै, भारतीय पर्यटकहरूले नेपाल प्रवेश गर्दा नाकामा भोग्नुपर्ने झमेला र प्रक्रियागत कठिनाइले गर्दा ठूलो संख्यामा छिमेकी मुलुकका पर्यटकहरू अन्यत्रै मोडिने गरेको गुनासो पनि व्यवसायीहरूले पोखेका छन्।
मधेश र पहाडको पर्यटनलाई एकआपसमा जोडेर नयाँ पर्यटकीय सर्किट निर्माण गर्न सके यसले देशको समग्र आर्थिक विकासमा टेवा पुग्ने व्यवसायीहरुको सुझाव दिएका थिए ।


