सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंगराहाका १६ वर्षीय किशोर अभिषेक कुमार सिंह (मालिक) को विभत्स हत्या भएको छ।
आफ्नै घर नजिकका साथीहरूले अपहरण गरी ५ करोड रुपैयाँ फिरौती माग्ने उद्देश्यले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
गत असोज ५ गते राती करिब ८ बजे आफ्नै घर अगाडि पिसाब फेर्न निस्केका अभिषेक एकाएक बेपत्ता भएका थिए। परिवारले खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिइएको थियो।
खोजतलासकै क्रममा असोज ७ गते बिहान घरभन्दा २०० मिटर पूर्वमा रहेको श्री अर्जुन आधारभूत विद्यालय अगाडि अभिषेकको अर्ध–नग्न र दुर्गन्धित अवस्थामा शव फेला परेको थियो।
घटनाको संवेदनशीलतालाई हेर्दै जिल्ला प्रहरी कार्यालय सिरहा, प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर र विशेषज्ञ टोली घटनास्थल पुगेको थियो। प्रहरीले शंकाको घेरामा रहेका ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका एक नाबालक ९परिवर्तित नाम गोलबजार ले हत्याको भयानक योजना खुलासा गरेका छन्।
अभियुक्तले अभिषेकलाई अपहरण गरी फिरौती असुल्ने र पछि हत्या गर्ने योजना पहिले नै बनाएका थिए। यसका लागि उनले विद्यालयको पर्खाल छेउमा खाल्डो खनेर प्लास्टिकको ड्रम गाडेर राखेका थिए।
असोज ५ गते राती अभिषेकलाई भेट्न बोलाई डोरीले हात बाँधेर र गम्छाले मुख थुनेर घाँटी थिची हत्या गरियो। हत्यापछि शवलाई त्यही ड्रमभित्र लुकाएर टायलले छोपिएको थियो।
हत्याको भोलिपल्ट बिहान ८ः२१ बजे मृतककै मोबाइलबाट उनकी आमालाई हिन्दी भाषामा म्यासेज पठाउँदै ५ करोड रुपैयाँ फिरौती माग गरिएको थियो।
प्रहरीको सक्रियता बढेपछि अत्तालिएका अभियुक्तले असोज ७ गते राती २ बजे ड्रमबाट शव निकालेर विद्यालय अगाडिको सार्वजनिक बाटोमा फालेका थिए। उनले शव राखेको ड्रम पोखरीमा र मृतकको मोबाइल खेतमा फालेका थिए, जुन प्रहरीले बरामद गरिसकेको छ।
प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा अमित यादव र अर्का एक नाबालकलाई पक्राउ गरेको छ। मृतकका हजुरबुवा लक्ष्मण महतोले दिएको किटानी जाहेरीका आधारमा उनीहरूमाथि अपहरण गरी हत्याु गरेको कसुरमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका एक प्रतिवादी नाबालक देखिएकाले उनको नाम गोप्य राखिएको छ। अदालतबाट पक्राउ पुर्जी समर्थन गराई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।


