काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको’अस्थायी दर्ता’को व्यवस्थालाई पूर्ण रूपमा हटाउने निर्णय गरेको छ।
काउन्सिलको हालै बसेको पूर्ण बैठकले नियमावली संशोधन गरेर यो व्यवस्था हटाउने प्रक्रिया अघि बढाएको हो।
काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज मंगलबार पत्र लेख्दै नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ संशोधनका लागि सिफारिस गरेको छ।
काउन्सिलको गत मंसिर ३ गते बसेको पूर्ण बैठकले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को परिच्छेद २ को नियम ५ मा अस्थायी दर्ताको व्यवस्था रहेको हुँदा चिकित्सकहरुको अस्थायी दर्ता हटाउने प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो।
मंगलबार काउन्सिलका रजिष्ट्रार डा सतिस कुमार देवको हस्ताक्षरमा मन्त्रालयमा पठाइएको पत्रमा पनि संशोधन गर्नुपर्ने विषय उल्लेख छ।
हालसम्म चिकित्सा शिक्षा पूरा गरेका चिकित्सकहरूले स्थायी लाइसेन्स पाउनुअघि वा निश्चित प्रयोजनका लागि अस्थायी दर्ता गराउनुपर्ने प्रावधान थियो। यो व्यवस्था हटेसँगै चिकित्सकहरूको दर्ता प्रक्रियामा नयाँ फेरबदल आउने देखिन्छ।
काउन्सिलको यो निर्णय मन्त्रालयबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा लागू हुनेछ।


