काठमाडौं । भक्तपुरको थिमीमा मंगलबार एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे ।
उक्त घटनामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टुटु) हतियार रहेको खुलेको छ । आत्महत्यामा प्रयोग भएको हतियार अत्याधुनिक किसिमको रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार बरामद बन्दुकमा जिएस५ जर्मन लेखिएको छ । यो बन्दुक सूर्यकुमार नेम्वाङले लाइसेन्स लिएर राखेको पाइएको छ । नेम्वाङ अवकाशप्राप्त ब्रिटिस आर्मी हुन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट उनले लाइसेन्स लिएर यो बन्दुक राखेको पाइएको हो । नेम्वाङ बेलायत(काठमाडौं जाने आउने गर्थे । भक्तपुरमा भने उनी मध्यपुर थिमी नगरपालिका(६ राई टोलस्थित ससुराली घरमा बस्थे । यो हतियार ससुराली घरमै राखिएको थियो ।
र्याप गरेर दराजमा राखिएको हतियार निकालेर नेम्वाङकै सालो ४० वर्षीय सनिप चाम्लिङ राईले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।
आत्महत्या गरेका राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले प्रहरीसमक्ष बताएका छन् । भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरे ।
मंगलबार दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौंथो तलामा राईले कोठाको चुकुल लगाएर दराजमा राखेको बन्दुक निकालेर आफैंलाई गोली हानेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुको भनाइ छ ।
एक अनुसन्धान अधिकृतका अनुसार उनले सुरुमा खुट्टाले ट्रिगर दाबेर दुई राउन्ड गोली पेटमा हानेका थिए । त्यसपछि तेस्रो राउन्ड गोली कन्चटमा हानेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।
भित्र ठूलो आवाज आएपछि झ्यालको सिसा फोडेर आफन्त कोठामा छिरेका थिए । राई ढलेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त ठिमीका डीएसपी जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी, अपराध अनुसन्धान कार्यालयको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो ।


