वीरगंज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि २४ औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था तेस्रो दिन बिस्तारै कमजोर बन्दै गएको छ।
अनशनरत डा. केसीको शरीरमा ‘ब्लड सुगर’ को मात्रा घटेर शनिबार बिहान ५० एमजी/डिएल (mg/dL)मा झरेको छ भने रक्तचापमा समेत तीव्र उतारचढाव देखिएको छ।
स्वास्थ्यमा आएको गिरावटसँगै उहाँलाई मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता जटिलता थपिएका छन्। अनशन बस्नुअघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उहाँलाई हिँडडुल गर्न र बाथरुम जानसमेत निकै कठिनाइ भइरहेको छ।
डा. केसीको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप उपचारका लागि सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा विशेष मेडिकल टोली खटिएको छ।


