– सलाउद्दीन अहमद
नेपालमा पछिल्ला केही वर्षयता चिकित्सकमाथि हुने दुर्व्यवहार, कुटपिट, धम्की तथा अस्पतालभित्रै हुने हिंसात्मक घटनाहरू चिन्ताजनक रूपमा बढिरहेका छन्।
हालै नारायणी अस्पतालका एक चिकित्सकमाथि भएको सांघातिक आक्रमणले फेरि एकपटक हाम्रो समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको छ। अस्पताल उपचार गर्ने पवित्र स्थल हो कि आक्रोश पोख्ने थलोरु यो प्रश्न आज प्रत्येक सचेत नागरिकले आफैँसँग सोध्नुपर्ने अवस्था सिर्जना भएको छ।
डाक्टर एउटा जागिर मात्र होइन, मानव जीवन बचाउने अत्यन्तै जिम्मेवार, संवेदनशील र मर्यादित पेशा हो। बिरामीको पीडा कम गर्न, मृत्युको मुखबाट मानिसलाई फर्काउन र संकटको घडीमा आशाको किरण बन्ने पेशाप्रति समाजको उच्च सम्मान हुनुपर्ने हो। तर विडम्बना, आज त्यही पेशाका मानिसहरू आफ्नो कार्यस्थलमै असुरक्षित महसुस गर्न बाध्य भएका छन्।
केही दिनअघि मेरो एक घनिष्ठ मित्र, जो पेशाले चिकित्सक हुनुहुन्छ, उहाँले धेरै दिनपछि फोन गर्नुभयो। ूसाथी, धेरै दिन भयो भेट नभएको, आज केही समय सँगै बसौँ,ू उहाँको आग्रह थियो। हामी तीन–चार जना साथीहरू भेट्यौँ। चिया आयो, कुराकानी सुरु भयो, पुराना सम्झनाहरू ताजा हुन थाले। तर हाम्रो भेटघाटको दस मिनेट पनि बित्न नपाउँदै अस्पतालबाट फोन आयो। त्यहाँ एक गम्भीर बिरामीलाई तत्काल चिकित्सकको आवश्यकता रहेछ। उहाँले एकछिन पनि ढिला गर्नुभएन। हामीसँग माफी माग्दै तुरुन्तै अस्पतालतर्फ लाग्नुभयो।
त्यो दिन मैले नजिकबाट महसुस गरेँ—चिकित्सकको व्यक्तिगत जीवन कति सीमित हुन्छ। परिवारसँगको समय, साथीभाइसँगको भेटघाट, चाडपर्वको रमाइलो, आरामका क्षण—यी सबै कुनै पनि बेला एउटा फोनले अन्त्य गरिदिन सक्छ। जब हामी आराम गरिरहेका हुन्छौँ, त्यही बेला कुनै डाक्टर शल्यक्रिया गरिरहेका हुन्छन्, कुनै आईसीयूमा बिरामीको जीवन बचाउन संघर्ष गरिरहेका हुन्छन्, त कुनै आकस्मिक कक्षमा मृत्यु र जीवनबीचको लडाइँ लडिरहेका हुन्छन्। यही उनीहरूको पेशागत प्रतिबद्धता हो।
यस्तो त्याग र समर्पणको बदलामा यदि चिकित्सकले गाली, कुटपिट र हिंसा भोग्नुपर्छ भने त्यो केवल एक व्यक्तिमाथिको अन्याय होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको सांघातिक आक्रमण यही दुःखद प्रवृत्तिको प्रतिनिधि घटना हो। कुनै बिरामीको अवस्था जटिल हुनु वा मृत्यु हुनु दुःखद विषय हो। परिवारको पीडा स्वाभाविक हो। तर त्यसको समाधान अस्पताल तोडफोड गर्ने, चिकित्सकमाथि हातपात गर्ने वा ज्यानै जोखिममा पार्ने कदापि हुन सक्दैन। यदि उपचारमा लापरबाही भएको आशंका छ भने त्यसको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया उपलब्ध छन्। न्यायको विकल्प भीडको हिंसा हुन सक्दैन।
यस्ता घटनाले चिकित्सकको मनोबल मात्र होइन, सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरमा असर पार्छ। डर र त्रासको वातावरणमा कुनै पनि चिकित्सकले पूर्ण आत्मविश्वासका साथ काम गर्न सक्दैन। यसको प्रत्यक्ष असर अन्ततः बिरामी र समाजले नै भोग्नुपर्छ।
यसको अर्थ चिकित्सकहरू गल्तीभन्दा माथि छन् भन्ने होइन। चिकित्सा पेशामा पनि उत्तरदायित्व, पारदर्शिता र व्यावसायिक आचरण अनिवार्य छन्।
जहाँ लापरबाही प्रमाणित हुन्छ, त्यहाँ कानुनबमोजिम कडा कारबाही हुनुपर्छ। तर दोष प्रमाणित हुनुअघि भीडको निर्णय सुनाउने र हिंसाको बाटो रोज्ने प्रवृत्ति सभ्य समाजको परिचायक हुन सक्दैन।
आज हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ। यदि जीवन बचाउने डाक्टर नै सुरक्षित छैनन् भने शिक्षक, पत्रकार, वकिल, न्यायाधीश, सुरक्षाकर्मी वा अन्य सेवामूलक पेशाका मानिसहरू कसरी सुरक्षित रहन सक्छन्रु कानुनको शासन कमजोर हुँदा अराजकता बलियो हुन्छ, र अराजकताको सबैभन्दा ठूलो मूल्य अन्ततः आम नागरिकले नै चुकाउनुपर्छ।
सरकारले अस्पतालहरूमा प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्छ। चिकित्सकमाथि हुने हिंसाका घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कडा र निष्पक्ष कारबाही हुनुपर्छ। साथै, अस्पताल प्रशासनले बिरामीका आफन्तसँग पारदर्शी संवादको संस्कृति विकास गर्नुपर्छ, ताकि गलतफहमी र तनाव कम होस्।
हामी नागरिकले पनि एउटा सत्य बुझ्न आवश्यक छ—डाक्टर भगवान् होइनन्, तर उनीहरू जीवन बचाउन आफ्नो सम्पूर्ण ज्ञान, समय र क्षमता समर्पित गर्ने मानिस हुन्। उनीहरूलाई सम्मान, सुरक्षा र विश्वास दिनु भनेको हाम्रो आफ्नै स्वास्थ्य प्रणालीलाई सुरक्षित बनाउनु हो।
नारायणी अस्पतालको घटना एउटा अस्पतालको मात्र घटना होइन। यो हाम्रो समाजमा बढ्दै गएको असहिष्णुता, कानुनी शासनप्रतिको कमजोर विश्वास र हिंसालाई समाधान ठान्ने गलत मानसिकताको संकेत हो। यदि आज पनि हामीले यसबाट पाठ सिकेनौँ भने भोलि यसको असर हरेक क्षेत्रमा देखिनेछ।
सभ्य समाजको परिचय अस्पतालमा कति आधुनिक उपकरण छन् भन्नेबाट मात्र हुँदैनस जीवन बचाउने हातहरू कति सुरक्षित छन् भन्नेबाट पनि हुन्छ। त्यसैले आजको आवश्यकता स्पष्ट छ—चिकित्सकमाथिको हिंसा अन्त्य गरौँ, कानुनको शासन स्थापित गरौँ र मानव जीवन बचाउने हातहरूको सम्मान गरौँ।
निष्कर्ष
नारायणी अस्पतालको घटना एक्लो उदाहरण होइन, यो बढ्दै गएको प्रवृत्तिको एउटा झलक मात्र हो। डाक्टर पेशाको मर्यादा जोगाउन र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न राज्यले ठोस कानूनी व्यवस्था र प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ। साथै, समाजका सबै तप्काले पनि आफ्ना गुनासा र असन्तुष्टि व्यक्त गर्ने वैधानिक र सभ्य माध्यमहरू अपनाउनु आवश्यक छ। एउटा सभ्य समाजको पहिचान भनेकै आफ्ना सेवाप्रदायकहरूलाई सम्मान गर्नु र उनीहरूको सुरक्षा सुनिश्चित गर्नु हो। यदि हामीले आज यसतर्फ ध्यान दिएनौं भने, भोलि यसको मूल्य सिंगो समाजले नै तिर्नुपर्ने हुन सक्छ।


