काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीच एकताको सहमति भए पनि पार्टीगत समायोजनमा ढिलाइ भएको छ । दुई पक्षबीच हिस्सेदारीका कुराहरू मिल्न बाँकी रहेको स्रोतले बतायो ।
रास्वपा र उज्यालो नेपालले गत पुस १५ गते एकताको सहमतिमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाउने उल्लेख छ । तर, अहिलेसम्म उनी पार्टीको बैठकमा सहभागी भएका छैनन् र शपथ पनि खाएका छैनन् ।
रास्वपाले गत २० पुसमा बालेनको कोटाबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्यो । उनीहरूमध्ये बालेनबाहेक सबैको शपथग्रहण भइसकेको छ । कुलमानजस्तै बालेन पनि अहिलेसम्म रास्वपाको बैठकमा गएका छैनन् र शपथग्रहण पनि गरेका छैनन् । बालेनले मेयरबाट राजीनामा दिएपश्चातमात्रै रास्वपामा आबद्ध हुने मनस्थिति बनाएको बुझिन्छ ।
यता, कुलमानको पार्टीका तर्फबाट भने अहिलेसम्म पनि केन्द्रीय समितिमा मनोनयन भएको छैन । केन्द्रीय समितिमा कति जना उज्यालो नेपालबाट थप्ने भन्नेमै दुई पक्षबीच विरोधाभास देखिन्छ । रास्वपाका नेताहरूले १२ जना केन्द्रीय सदस्य थप्ने निर्णय भएको बताइरहँदा उज्यालो नेपालका नेताहरू भने ठोस समझदारी हुन बाँकी नै रहेको बताउँछन् ।


